Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Sunday, Ashoj 04, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction of District Syangja

2075-07-15

2075-07-15


स्याङ्जा जिल्लाको परिचय

नेपालको गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्ला एक रहेको छ  । यस जिल्लामा पुतलीबजार (१४ वडा), भीरकोट (९ वडा), वालिङ (१४ वडा), गल्याङ (११ वडा) र चापाकोट (१० वडा) गरी ५ वटा नगरपालिका रहेका छन्। त्यसैगरि फेदीखोला (५ वडा), आँधिखोला (६ वडा), हरिनास (७ वडा), विरूवा (८ वडा), कालिगण्डकी (७ वडा) र अर्जुनचौपारी (६ वडा) गरी जम्मा ६ वटा गाउँपालिकाका समिति जम्मा ९७ वडाहरु रहेका छन । यस्तै गरी २ वटा संघीय संसदका निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभाका निर्वाचन क्षेत्र रहेका छन् ।

यस जिल्लाको सदरमुकाम समुद्री सतहबाट ८५० मीटर उचाइमा रहेको स्याङ्जा बजार हो। यो जिल्ला समुद्र सतहबाट न्यूनतम ३६६ मीटर (केलादी) देखि अधिकतम २,५१२ मीटर (पञ्चासेको लेक) सम्म उचाइमा रहेको छ। यस जिल्लाको पूर्वमा तनहुँ, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की र दक्षिणमा कालीगण्डकी नदीसँग पाल्पा जिल्लाले सीमाना छुट्याएको छ।

भौगोलिक अवस्थिति

जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गले करिब बीचबाट पूर्व र पश्चिम गरी विभाजन गरेको छ। मुग्लिङ नारायणगढ सडक निर्माण नहुंदै सुनौली-पाल्पा-स्याङ्जा-पोखरा-काठमाडौसम्म पुग्ने नेपालको मुख्य लोकमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मी. पक्की सिद्धार्थ लोकमार्ग भित्र यातायात सञ्चालन हुदै  आएको छ । त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्लाभित्र पर्दछ।

हाल स्याङ्जा नेपालको ठूलो जल विद्युत परियोजना- कालीगण्डकी ए (१४४ मेगावाट), सबैभन्दा ठूलो पहाडी सिंचाई योजना-चापाकोट टार सिंचाई योजना (१००० हेक्टर), नेपालको पहिलो नमुना ग्रामीण पर्यटन गाउँ पञ्चमूलको सिरुबारी, नेपालकै नमुना मानिने पाल्पा र स्याङ्जाको सिमानासँग जोड्ने कालीगण्डकी नदीमाथि रहेको राम्दीको पुल र दूध, सुन्तला, अदुवा र कफी उत्पादन गर्ने जिल्लाको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ ।

राष्ट्रिय जनगणना २०7८ अनुसार स्याङ्जामा २,53,024 जना मानिसहरु अक्सर बसोबास गरेका छन्। यो जिल्लाले नेपालको क्षेत्रफलको ०.७९ प्रतिशत र जनसंख्याको 0.87 प्रतिशत अंश ओगटेको छ । ७७ जिल्लामध्ये स्याङ्जा क्षेत्रफलमा ६४ औं स्थानमा रहेको छ । साक्षरता र सरकारी सेवाका दृष्टिले स्याङ्जा  नेपालकै अग्रणी जिल्लामा गनिन्छ।

स्याङ्जाको ऐतिहासिक परिचय

विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरुको कथन समेतको आधारमा स्याङ्जा जिल्लालाई प्रागः ऐतिहासिक कालमा भृगु ऋषिको तपस्यास्थल (साविकको चण्डीभञ्ज्याङ्गको भृगतुम), श्रवण कुमार र अन्धाअन्धीको किंवदन्तीसँग जोडिएको आँधीखोलाको उद्गमस्थल  अन्धाअन्धी दह र स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार सती देवीको शेष अंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलिक स्वरुपमा लिन सकिन्छ। प्राचीन कालमा हालको स्याङ्जा जिल्लाको भूबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मिक नदी कालीगण्डकी किनारका सेतीबेणी, रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट, छायाँ क्षेत्र हुँदैं उत्तर पञ्चासेधाम (बालाचतुर्दशीका दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरुमा उल्लेख भएको पाइन्छ।

प्राकृतिक, सांस्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यित स्याङ्जा जिल्लाले, नेपाल एकीकरण पूर्व चौबिसे राज्य अन्तर्गत छ टुक्रे रजौटाहरु गह्रौं, भीरकोट, सतौ, नुवाकोट, ढोर र पैंयुले आफ्नो ऐतिहासिक पहिचान बोकेको छ। ढोर र पैंयुको धेरैजसो भूभाग क्रमशः तनहुँ र पर्वतमा विलय भएपछि बाँकी चार रजौटाबाट शासित भूभाग नै आधुनिक स्याङ्जा जिल्लाको पहिचान बनेर रहेको छ। यस जिल्लाको क्षेत्रफल ११६४ वर्ग किमी रहेको छ।

यस जिल्लालाई कोटै कोटको जिल्ला समेत भन्ने गरिन्छ। नुवाकोट, सतौंकोट, भिरकोट, गह्रौकोट, कालिकाकोट, बहाकोट, चन्द्रकोट, गिरकोट, कोल्माकोट, सिर्सेकोट, खैरीकोट ईत्यादी यहाँका प्रमूख कोटहरु हुन्। यस जिल्लामा नेपालको पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारी , पुरूषोत्तम रामका पिता दशरथसँग जोडिएको अन्धाअन्धी दह र आँधीखोला, संसारकै ठुलो मानिएको शालिग्राम शिला, शाहवंशको शुरुवाती राज्य भिरकोट, कुलदेवी आलम देबी, स्वस्थानी ब्रत कथामा बर्णित सतिदेवीका बाँकी अंगहरु पतन भएको क्षेत्र छायाँक्षेत्र, ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नवशेष, हिउँ पर्ने पञ्चासेको लेक, भित्री मधेशलाई बिर्साउने अन्न भण्डार क्रमशः गण्डकबेशी, चापाकोट, कुवाकोट र रत्नपुर फाँट पर्दछन्।

यो जिल्ला सुन्तला, अदुवा, अलैंची तथा कफी जस्ता नगदेबालीका लागि प्रसिद्ध छ र यहाँ उत्पादित कृषिजन्य वस्तुहरु देश बिदेशमा समेत निर्यात हुने गरेको पाईन्छ। यस जिल्लालाई देशकै शिक्षित जिल्लाको रुपमा चिनिन्छ । यहाँका अधिकांश शिक्षित वासिन्दाहरु नेपाल सरकारको निजामति सेवा अन्तर्गतका उच्च ओहोदामा पुगी देश सेवामा जुटेका छन्।

प्रमूख पर्यटकीय गन्तव्य

(क) भालुपहाड : जिल्लाको आन्तरिक तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने पर्यटक बसेर फोटो खिच्ने तथा पहाडको दृश्यको मजा लिने ठाउँ हो भालु पहाड। यहाँ नेपाली चलचित्रका गित तथा म्युजिक भिडियोहरु यहाँ सुटिङ हुने गर्दछ।

(ख) छाङ्छाङ्दीको वातावरण : श्री स्वस्थानी ब्रतकथामा आधारित सतीदेवीको अङ्ग पतन भएको स्थल, छायाँ क्षेत्रको रूपमा समेत परिचित पवित्र तीर्थस्थल जिल्ला सदरमुकामबाट १८ किलो मीटर दक्षिण सिद्धार्थ राजमार्गमा नै पर्छ ।

(ग) पञ्चासेको लेक : समुद्र सतहबाट २५१२ मीटरको उचाइमा रहेको जिल्लाको अग्लो स्थान र बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान सदरमुकामबाट ३० किलो मीटर उत्तर पश्चिममा पर्छ । यो  गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो ।

(घ) अन्धाअन्धी दह :  राजा दशरथले मृगको आवाज सम्झी बाण हान्दा बाणले श्रवणकुमारलाई लागि श्रवणकुमारको मृत्यु भएको र राजा दशरथ पानी लिएर जाँदा श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुवै जना त्यहीं रुँदारुँदै मरेका हुँदा उनीहरूको आँसुबाट दहको उत्पत्ति भएकाले त्यस दहको नाम अन्धाअन्धी दह रहन गएको किम्वदन्ती रहेको छ। यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ।

(ङ) श्रवणकुमार समाधि क्षेत्र : स्याङ्जा जिल्लाको बाङ्गसिङ्गको घ्याङ्गसिरीमा श्रवणकुमार समाधि क्षेत्र रहेको र यस क्षेत्रमा त्रेता युगमा अन्धा बाबुआमालाई बोकी घुम्न आउने क्रममा श्रवण कुमारले चिलाउनेवास अन्तर्गतको अन्धाअन्धी क्षेत्रमा बाबुआमालाई राखी तिर्खाएका बाबुआमाको प्यास मेटाउन पानी खोज्दै जाँदा श्रवणकुमार स्याङ्जा जिल्लाको बाङ्गसिङ्गको घ्याङ्गसिरी भन्ने ठाउँमा पुगी पानी फेला पारी पानी भर्न गाग्रो डुवाउँदा निस्किएको आवाजलाई दशरथले मृगको आवाज सम्झी बाण हान्दा बाणले श्रवणकुमारलाई लागि श्रवणकुमारको मृत्यु भएको हो भन्ने भनाई छ ।

(च) स्वरेक मैदानः भीरकोट नगरपालिका ५ मा अवस्थित स्वरेक मैदान दाई सहासिक पर्यटकीय गन्तव्यको रुपमा रहेको प्याराग्लाईडिङ राष्ट्रिय तथा अन्तराष्ट्रिय विल समेत सम्पन्न भएकाले अन्तराष्ट्रिय स्तरमा समेत यो ठाउँको पहिचान रहेको छ ।

प्रमूख धार्मिक स्थलहरू

(क) स्याङ्जा नुवाकोट – नुवाकोट स्याङ्जा जिल्लाको उच्च मध्य पहाडी भूभागमा हो। समुन्द्र सतहबाट १९०० मिटरको उचाइमा रहेको यो ठाउँ स्याङ्जा जिल्लाको पुरानो सदरमुकाम पनि हो। चौबीसे राज्यमध्येको एक शक्तिशाली राज्य नुवाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी, मनास्लु जस्ता हिमालको सुन्दर अवलोकन गर्न पाइने, हरियाली वातावरणले घेरिएको यो ठाउँ स्याङ्जा जिल्लाको एक महत्वपूर्ण धार्मिक  पर्यटकीय स्थल पनि हो।

(ख) राधा दामोदर आश्रम – जिल्लाको साँखरमा पर्ने प्रसिद्ध तीर्थस्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ। यहाँबाट पाल्पाको रामपुर लगायत देशका विभिन्न भागहरुको दृश्यावलोकन गर्न सकिन्छ।

(ग) चण्डीकालीका – यो मन्दिर पुतलीबजारको सतौंमा पर्दछ। यहाँ स्याङ्जाबाट करीब डेढ घण्टा पैदल हिंडेर या गाडीमा पनि जान सकिन्छ। यहाँ विभिन्न तिथिहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। यहाँबाट स्याङ्जा लगायत विभिन्न ठाउँहरु र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ।

(घ) राम्दीघाट – स्याङ्जा पाल्पा सीमानामा रहेको कालीगण्डकी पुलमा राम्दीघाट पर्दछ। प्रसिद्ध धार्मिकस्थल राम्दीघाट सदरमुकामबाट ५२ किलोमिटर दक्षिणमा पर्छ।

(ङ) आलमदेवी – शाहवंशका कुलदेवीका रूपमा रहेकी आलम देवी देशकै महत्वपूर्ण धार्मिकस्थल सदरमुकामबाट दक्षिण पश्चिममा पर्छ। यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रूपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वाहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्गमा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिइन्छ। आलमदेवी नेपाली राजाहरुको कल पूजा गर्ने स्थल पनि हो।

(च) बुढाकोट – स्याङ्जा जिल्लाको सबैभन्दा अग्लो पहाड बुढाकोट हो। गुरुङ बस्ती रहेको यस पहाडको टुप्पोबाट स्याङ्जाको अधिकांश ठाउँ, पाल्पा र पोखरा हेर्न सकिन्छ। पहाडको टुप्पोमा एक मन्दिर छ, जहाँ दशैंमा विशेष भीड हुन्छ।

(छ) कैलाश गुफा – यो गुफा वहाकोटमा पर्दछ। किम्बदन्ती अनुसार पौराणिक कालमा भगवान महादेव यसै गुफामा आएर बसेको पाइन्छ। यस गुफामा जाने २ वटा प्रवेश मार्गहरु छन्। यस गुफाभित्र आर्कषक देवी देवता र गाईको मुख लगायत गुफाभित्र छ्याङ छ्याङ गर्ने पोखरी पनि छ।

Last Updated : 2083-06-02 11:46:58

© All Rights Reserved to District Administration Office, Syangja